मकवानपुरको कैलाश गाउँपालिकामा बालबालिकालाई विद्यालय पठाउने झाँक्री दाई हुनुहुन्छ । झाँक्री दाईले बालबालिकालाई विद्यालय पठाउन सहयोग गर्ने गर्नुहुन्छ । मकवानपुरको कैलाश गाउँपालिका–७ का चित्र बहादुर चेपाङ् झारफुक मात्र हैन गाउँका बालबालिकालाई विद्यालय पठाउने काम समेत गर्नुहुन्छ ।
डाक्टरको सेवा सुविधा कम भएको गाउँमा झारफुक व्यवसाय राम्रै चल्छ तर चित्र बहादुरको कुरा अलिक भिन्न छ । उहाँलार्ई झारफुक गर्न लगाउने हो भने बालबालिकालाई अनिवार्य विद्यालय पठाउनु पर्ने शर्त हुन्छ । गाउँमा कोहि बिरामी परेमा झारफुकका लागि झाँक्री दाईको घरमा आउने गर्दछन् । यदि विद्यालय जाने उमेरको बालबालिका विद्यालय नपठाएको रहेछ भने उहाँ झारफुक गर्नुहुन्न । तर, विद्यालय पठाउने शर्तमा उहाँले झारफुक गर्ने गर्नुहुन्छ । उहाँ गाउँमा सबै अभिभावकलाई बालबालिकालाई विद्यालय पठाउन आग्रह गर्दै हिँड्नुहुन्छ । यदि कसैले मानेन भने उसको घरको कोहि बिरामी भएमा झारफुक गर्न मान्नुहुन्न । झारफुक गर्नुहुन्छ तर, बालबालिकालाई विद्यालय पठाउने शर्तमा ।

केहि दिन अगाडि गाउँका ६ वर्षीया अनिल चेपाङ ७ वर्षीया राम शरण चेपाङ बिरामी परेर झारफुक गर्न जाँदा उहाँले मान्नुभएन । किन यस्तो गर्नुभएको भन्दा उहाँ भन्नुहुन्छ, “गाउँमा त्यसो नगरी कुरा बुझ्दैनन् । विद्यालय गए भने बालबालिकाहरुको सरसफाई राम्रो हुन्छ, समयमा खाना खान्छन्, अनुशासनमा बस्छन् जसले गर्दा उनिहरु बिरामी पर्ने सम्भावना कम हुन्छ ।” विद्यालय पठाउने शर्तमा मात्र उहाँ बालबालिकाको उपचार गर्नुहुन्छ र सकेसम्म अस्पताल लानुपर्ने सुझाव समेत दिने गर्नुहुन्छ”, स्थानीय राजनीतिकर्मी आईत सिंह चेपाङले भन्नुभयो ।
गाउँमा शिक्षाको अभियन्ता भन्दा पनि हुन्छ उहाँलाई स्थानीय राजनीतिकर्मी चेपाङले भन्नुभयो । अनेक किसिमले गाउँमा अभियन्ताका रुपमा उहाँले काम गर्नुहुन्छ चेपाङले भन्नुभयो । गाउँमा व्यावसायिक तरकारी खेतिदेखि वृक्षरोपण लगायतका काममा उहाँको उल्लेखनीय भूमिका रहेको चेपाङले बताउनुभयो । भर्खरै मात्र गाउँमा १ हजार वटा बिरुवा रोप्नलाई उहाँकै योगदान रहेको तथा व्यावसायिक कुखुरापालन, तरकारी व्यवसायलगायतका काममा युवालाई समेत प्रेरित गर्ने गरेको राजनीतिकर्मी चेपाङले बताउनुभयो ।
कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तान उहाँलाई गाउँको समाज सुधारकको संज्ञा दिनुहुन्छ । झाँक्रीको काम गर्नुका साथै बालबालिकाहरुलाई पढाउनु पर्छ भनेर घर÷घरमा प्रचार गर्नूहुन्छ । उहाँले गर्दा स्थानीय विद्यालयमा यो वर्ष विद्यार्थी समेत बढेका छन् । विद्यालयमा विद्यार्थी बढेकाले अहिले हामीले उक्त विद्यालयमा शिक्षक थप समेत गरेका छौं । “विद्यालयमा विद्यार्थीको संख्या बढेपछि शिक्षक थप गर्न हामी बाध्य भयौं”, अध्यक्ष मोक्तानले भन्नुभयो, “यो सबैको श्रेय झाँक्री दाईलाई जान्छ ।” अध्यक्षमोक्तानले भन्नुभयो ।
स्थानीय सरस्वती आधारभुत विद्यालयमा अघिल्लो शैक्षिक सत्रमा ६०÷६५ जना बालबालिका थिए । झाँक्री दाईले गर्दा अहिले ३०÷३५ जना विद्यार्थी बढेका छन्”, विद्यालयकी प्रधानाध्यापक रमिला हिमडुङले भन्नुभयो । विद्यालयमा अहिले ९९ जना विद्यार्थी अध्ययन गर्दछन् । हिमडुङ भन्नुहुन्छ, “झाँक्री दाईले गाउँमा बालबालिकालाई विद्यालय पठाउनु पर्छ भनेर प्रचार गर्नूहुन्छ, विद्यालयमा खाजाको व्यवस्था छ भनेर गाउँका अभिाभकलाई सम्झाउनु हुन्छ जसले गर्दा विद्यालयमा विद्यार्थी बढेका छन् । “सबैको झाँक्री दाई वास्तवमै बालबालिकाले शिक्षा पाउनु पर्छ शिक्षा नै सबैभन्दा ठुलो हो भन्ने प्रचार गर्ने अभियन्ता भन्न रुचाउँछु म प्रधानाध्यापक हिमडुङले भन्नुभयो ।